दोहोरीमा चुनावी भिडन्तः बिजी र खत्री मैदानमा, कसले मार्ला बाजी ?

गोबिन्द मरासिनी/काठमाडौं । यतिबेला लोक तथा दोहोरी गीतका कलाकारहरु पोखरामा छन् । (भोली) मंसिर ६ देखि ८ गतेसम्म हुन गइरहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनका लागि सम्पूर्ण कलाकारहरु पोखरामा रहेका छन् ।

सातौ कार्यकालका लागि सबै कलाकारहरुले आ–आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । अध्यक्ष पदका लागि सर्जक रमेश बिजी र बिष्णु खत्रीले उम्मेद्वारी घोषणा गरिसकेका छन् । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका १४ मा जन्मिएका वर्तमान प्रतिष्ठानको बरिष्ठ उपाध्यक्ष समेत रहेका सर्जक बिजीले आफू अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएको दाबी गरेका छन् ।

Advertisement

उनले भने ‘म प्रतिष्ठानको संस्थापक सह–सचिव हुँ । म लगाएतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ । यसपाली स्वतः मेरो पालो भएकाले मैले अध्यक्ष पदको उमेदवारी दिदै छु ।’ चर्चित गीतहरुका सर्जक रमेश बिजीले अध्यक्ष पदका लागि उमेदवारी दिने भएका छन् । उनले आफूले अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै केहि एजेण्डा अगाडी सारेका छन् ।

– विगतदेखि आफूले गरेका राम्रा कामहरुको निरन्तरता ।
– संगीत प्रशिक्षण कक्षाको व्यबस्था ।
– बचत सहकारीको अवधारणा ।
– कलाकारहरुलाई संरक्षण संरक्षण गर्न ।
– देश बिदेशबाट संगीत सिक्न आउनेहरुका लागि विशेष व्यबस्था ।
– नेपाल सरकारसँग संगीत बिकास वोर्डको माग गर्न ।
– कलाकारहरुलाई भबिष्यका दिनमा प्रतिष्ठित नागरिक हुन भनेर चिनाउन ।
– गीत संगीतको बिकृती, बिसंगतीको अन्त्य गर्न ।

यस्तै, अध्यक्ष पदकै लागि अर्का चर्चित सर्जक तथा दोहोरी गायक बिष्णु खत्रीले पनि दाबी गरेका छन् । बाग्लुङ घर भएका खत्री ३ पटकसम्म प्रतिष्ठानको सदस्य, एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव रहेर अनुभव सम्हालिसकेको हुनाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।

खत्री यसअघि छैठौं महाधिवेशनमा बद्री पंगेनीसँग पराजीत भएका थिए । उनले आफू चुनावी मैदानमा उत्रिदै गर्दा केहि एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

– संगीत बिकास वोर्डको योजजा ।
– कलाकारको आर्थिक पक्ष सबल बनाउन ।
– बिकृती, बिसंगतीलाई जरैदेखि अन्त्य गर्न ।
– बिभिन्न जिल्लाहरुमा सचेतना कार्यक्रम गर्न, मौलिकता जोगाउन ।
– लोपउन्मुख भएका भाकाहरुको संरक्षण र पुराना सष्टाहरुको सम्मान गर्न ।
– मुलत गीत संगीतमा रहेको पाइरेसीको अन्त्य गर्न ।

बिधान शंशोधन नभएको खण्डमा महाधिवेशनले ४ मनोनित सहित ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जसमा अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र महिला उपाध्यक्ष १/१ जना, महासचिव १, उपमहासचिव २, महिला सचिव १, पुरुष सचिव ९, कोषाध्यक्ष र सह–कोषाध्यक्ष १/१ र बिभिन्न समूहबाट ३५ जना सदस्य निर्वाचित हुने प्रावधान छ ।

वर्तमान उपाध्यक्ष यद्यपी विद्यानमा केहि शंशोधन हुन सक्ने सम्भावना रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठानले जनाएको छ । हालसम्म बरिष्ठ उपाध्यक्षमा चर्चित लोककलाकार पशुपति शर्मा आँकाक्षी देखिएका छन् । उनी वर्तमान प्रथम उपाध्यक्ष समेत हुन् । लोक तथा गीत संगीतमा वढी रुचाईने कलाकारमध्येका एक हुन शर्मा । त्यसैले उनी बरिष्ठ उपाध्यक्षमा बिजयी हुने लगभग सुनिश्चित छ । बरिष्ठ उपाध्यक्षमा नै अर्की गायिका रिता थापा मगरले पनि आकाक्षा गरेको भएपनि अन्तिम समयमा सहमतिमा शर्माका लागि छाड्ने बुझिएको छ ।

यस्तै प्रथम र द्धितीय उपाध्यक्षमा क्रमशः रामजी खाणँ र दिपक खड्काले उम्मेद्वारी दिने भएका छन् । महिला उपाध्यक्षमा हालसम्म राधिका हमालको नाम चर्चामा छ । यसैगरी एक महासचिवका लागि शिरिष देवकोटा र सुबास केसी, २ उप महासचिवका लागि शिव हमाल, शंकर बि.सी., चोलेन्द्र पौडेल र बैकुण्ठ महत लगायतका कलाकारले उम्मेद्वारी दिने पक्का छ । ९ सचिव पदका लागि खुमन अधिकारी, कृष्ण रौले, रमेशराज भट्टराई सहित वर्तमान कार्यसमितिका झण्डै २ दर्जन वर्तमान सदस्यहरुले दाबी गरेका छन् ।

एक कोषाध्यक्ष पदका लागि राजु ढकाल तारापति सुवेदीबीच प्रतिस्पर्धा हुने निश्चित छ भने सह–कोषाध्यक्षमा घनश्याम रिजाल र ईश्वरी भूषालबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । आफू बिभिन्न महोत्सब तथा कार्यक्रमहरुमा लोकप्रिय रहेकाले सह–कोषाध्यक्ष निर्वाचित हुने रिजालले दाबी गरे । रिजाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको वर्तमान सदस्य पनि हुन ।

यस्तै भूषाल प्रजापति पराजुली र दुर्गा रायमाझी अध्यक्ष हुँदा उनले कार्यालय सचिव रहेर समेत काम गरिसकेका छन् । उनी २०५९ सालदेखि निरन्तर हालसम्म संस्थाको बिभिन्न पदमा बसेर समर्पित गरेकाले भुषाल पनि बलियो दाबेदारका रुपमा देखिएका छन् ।

अध्यक्षका उम्मेद्वार वबजी र खत्री दुई मध्ये जो–सुकैले चुनाव जितेपनि लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्व पुनः एक पटक गण्डकी प्रदेशबाटै हुनेछ।

More News last news
Loading...