कास्की २ उपनिर्वाचनः २५ जनाको उम्मेदवारी

विजय नेपाल

पोखरा । प्रतिनिधिसभा सदस्य अन्तर्गत कास्की क्षेत्र २ मा हुने उपनिर्वाचनको लागि १४ दल र ११ स्वतन्त्र गरी २५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

Advertisement

नेकपाबाट विद्या भट्टराईले दोस्रो नम्बरमा आफ्नो उम्मेदवार दर्ता गराइन् । रवीन्द्र अधिकारी पत्नी भट्टराईको समर्थकमा प्रदेश सांसद समेत रहेकी प्रभा कोइराला र प्रस्तावकमा प्रदेश सांसद एवं नेकपा कास्की अध्यक्ष कृष्णबहादुर थापा छन् ।

काँग्रेसबाट खेमराज पौडेलले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन । उनको प्रस्तावकमा अघिल्लो चुनावमा पराजित देवराज चालिसे र समर्थकनमा सोभियतबहादुर अधिकारी रहेका छन् । उम्मेदवारमध्ये सबैभन्दा पाका ७४ वर्षीय खेमराजले नवौं नम्बरमा दर्ता गराएका हुन् । सबैभन्दा पहिले उम्मेदवार दिनेमा स्वतन्त्रका कमलजंग कुँवर रहेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

यसैगरी, साझा पार्टीबाट रजनी केसी, राप्रपाबाट रोमबहादुर भण्डारी, काँग्रेस (वीपी)बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह छन् ।

उम्मेदवार दिने लिम्बु, घले र शाहको नाम समानुपातिकको बन्दू सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृरी रुद्र न्यौपानेले बताए । उनीहरुको उम्मेदवार भने खारेज हुनेछ ।

यस्तै ११ स्वतन्त्र उम्मेदवारमा कमलजंग कुँवर सहित उमनाथ गौतम, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन् ।

उमेदवारी दर्तापछि नेकपा उम्मेदवार विद्या भट्टराईले विगतदेखि नेकपाले जितेको ठाउँ भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् ।

काँंग्रेस उम्मेदवार खेमराज पौडेलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित रहेको बताए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको हो

अघिल्लो चुनावमा स्व. अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । चुनावमा यसपालि कुल ७१ हजार ८ सय ७१ मतदाता छन् ।

यसैबीच, उम्मेदवार दर्ताको दिन बिहीबार निर्वाचन कार्यालय नजिकै बम विष्फोट भएको छ । विष्फोटबाट भने मानवीय क्षति टरेको छ ।

बम विष्फोट हुँदा नेकपा कास्की क्षेत्र २ कि उम्मेदवार विद्या भट्टराई आफ्नो उम्मेदवार दर्ता गराउँदै थिइन् । बम बिस्फोटको आवाज टाढाटाढासम्म सुनिएको थियो ।

More News last news
Loading...