काठमाडौँ । सडक निर्माणका विषयमा बैतडीमा उत्पन्न विवादमा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
दशरथचन्द नगरपालिका(९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् ।
गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
डोजर चालकसहित चार पक्राउ
सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन्। डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
