काठमाडौँ । लुक्लाबाट काठमाडौँका लागि उडेका ९ वटा हेलिकप्टरले विभिन्न स्थानमा आकस्मिक अवतरण गरेका छन्। काभ्रे, सिन्धुली र रामेछापका विभिन्न स्थानमा गरी अहिलेसम्म ९ वटा हेलिकप्टर आकस्मिक अवतरण गराइएका हुन्।
मौसम खराबीका कारण बीचमै आकस्मिक अवतरण गर्ने हेलिकप्टरको संख्या ९ पुगेको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले पुष्टी गरेका छन्। हेलिकप्टर सोसाइटीले यात्रुहरूलाई नआत्तिन तथाधैर्यतापूर्वक बस्न आग्रह गरेको छ।
लुक्ला विमानस्थलमा हेलिकप्टर जान नसकेपछि नजिकैको सुर्के भन्ने स्थानबाट यात्रुहरू राखेर विमान पठाइएको थियो। तर काठमाडौंको भिजिबिलिटी कम भएपछि जुन हेलिकप्टर जहाँ छ त्यहीँ रेस्ट गर्न सुझाव दिइएको थियो। मौसम खराबीका कारण गत शनिबारदेखि लुक्ला विमानस्थलबाट उडान भएको छैन।
शनिबारदेखि उडान हुन नसकेका कारण करिब ३०० यात्रु लुक्लामै अलपत्र परेको बताइएको छ। आकस्मिक अवतरण गराइएका भनिएका हेलिकप्टर पनि अलपत्र यात्रु लिनका लागि गएका थिए। गत शनिबार ४ वटा उडान भएपछि त्यसयता कुनै पनि आन्तरिक उडान हुन सकेको छैन्।
काभ्रे प्रहरीले सुरुमा ५ वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताएको थियो। लुक्ला विमानस्थलबाट दैनिक २० वटा उडान हुने गर्दछन्।
तस्वीर: सरोज बस्नेतको फेसबुकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
