विराटनगर । डेंगुका कारण विराटनगरमा एकजनको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-१० का १८ वर्षीय अभिनाश शर्मा रहेका छन्। शर्मा विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए।
मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका शर्माको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए। अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी नर्सिङ होममा लगिएको थियो।
स्वास्थ्य परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो। त्यसपछि आरामका लागि घरैमा बसेका शर्मालाई ज्योरोले च्यापेपछि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो।
गत जेठदेखि मोरङमा फैलिएको डेंगुका कारण १५९ जना संक्रमित छन् । प्रदेश १ मा पहिलो पटक धरानमा वैशाख ३० गते डेंगु देखिएको हो। सुनसरी धरानमा मात्र तीन हजार ६ सय भन्दा बढी मानिस डेंगुको संक्रमण देखिएको छ। गत बैशाख अन्तिम साताबाट फैलिएको डेंगुबाट धरानमा मात्र ३ हजार ६ सय ३९ जना संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्यमहाशाखा प्रमुख रामबाबु यादवले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
