रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवामा २५ वर्षीया सन्जु देवीको हत्या भएको छ।
मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे।
केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ। बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दाबी गरे।
जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए।
केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
