चन्द्रयान-२ को विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद, हौसला दिदै मोदी

चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिलेदेखि भारतीय चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजनाअनुरुप नै उत्रिरहेको थियो। चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढासम्म सबै सामान्य थियो। तर त्यसपछि उसँग सम्पर्क टुटेको छ। डेटाको समीक्षा भैरहेको छ।’

Advertisement

योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो।भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए। सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास देखिन्थे।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ। तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ। तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ।  म पूर्ण रुपमा तपाईँहरुको साथमा छु।’

भारतीय वैज्ञानिकका लागि आजको दिन अन्तरिक्षको अनुसन्धानका लागि एउटा कोशेढुंगा सावित हुँदै थियो । पूरा विश्वको ध्यान चन्द्रयान–२ मा थियो । बिहान साढे एक बजे चन्द्रयान-२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो ।

विक्रम ल्याण्डर पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरसँग अलग हुँदै थियो त्यसपछि उसलाई चन्द्रमाको सतहमा ल्याण्ड गराउने योजना थियो । ल्याण्डरसँगै प्रज्ञान नाम गरेको रोभर पनि थियो। जसले ल्याण्डरको सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर अनुसन्धान गर्ने योजना थियो।

इसरोले चन्द्रयान–२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव छनोट गरेको थियो। त्यहाँ विक्रम ल्याण्डरलाई सफ्ट ल्याडिङ गराइँदै थियो तर ल्याण्ड हुनुभन्दा केही पहिले मात्रै सम्पर्क विच्छेद भैदियो। चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश हो । अहिलेसम्म चन्द्रमाको भूमध्य रेखाको आसपास नै यानहरु पठाइएको थियो। यदि यो मिसनमा सफल भए अमेरिका, रुस र चीन पछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ।

More News last news
Loading...