ब्रिटेनका प्रधानमन्त्रीको माग विरुद्ध विपक्षी दलहरू एकमत

ब्रिटेनका विपक्षी दलहरू युरोपेली संघ (ईयू)को सम्मेलन अघि नै मध्य-अक्टोबरमा आम निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको मागलाई समर्थन नगर्न सहमत भएका छन्।

लेबर, लिबरल डेमोक्र्याट, द स्कटिश न्याशनल पार्टी (एसएनपी) र वेल्सको सोसियल डेमोक्र्याटिक पार्टी प्लाइड कम्रीले भनेका छन्- उनीहरूले सरकारको विरूद्धमा मतदान गर्नेछन् वा समयअगावै चुनाव गर्ने प्रस्तावबारे सोमवार हुने मतदान रोक्नेछन्।

Advertisement

एसएनपीका इयान ब्ल्याकफोर्डले भनेका छन्- उनीहरू यूके कुनै पनि सम्झौता बिना ईयूबाट बाहिरिने प्रक्रिया “दुर्घटनाग्रस्त” नहोस् भन्ने चाहन्थे। प्रधानमन्त्री जोनसनले चाहिँ पार्टीहरूले “असाधारण राजनीतिक गल्ती” गरेको बताएका छन्।

संसद्‌मा मतदान
बुधवार सांसदहरूले प्रधानमन्त्री जोनसनलाई आगामी अगस्ट ३१ भित्र ईयूसँग कुनै सम्झौता हुन नसकेमा थप समय माग गर्नलाई दबाब दिने एउटा विधेयकलाई समर्थन गरेका थिए। बिना कुनै सम्झौता ईयूबाट बाहिरिने प्रक्रियालाई रोक्नका लागि बनाइएको कानुन शुक्रवार हाउस अफ लर्डस्‌बाट पारित हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री जोनसन आगामी अक्टोबर १७ र १८ मा हुने ब्रसेल्स शिखर सम्मेलनअगावै अक्टोबर १५ मा चुनाव होस् भन्ने चाहन्छन्। त्यसले गर्दा ईयूसँग थप समय माग गर्न सहज हुने उनको भनाइ छ।
विपक्षी दलहरू भने उनी बिना कुनै सम्झौता बाहिरिने प्रक्रियामा जोड दिन चाहन्छन् भन्ने ठान्छन्।

अदालतमा चुनौती
गत साता जोनसनले ब्रेक्जिट भनिने ईयूबाट ब्रिटेन बाहिरिने प्रक्रिया सम्बन्धी मदतान श्रृङ्खलाहरूमा संसद्‌मा हार बेहोर्नु पर्‍यो। उनकै पार्टीका २१ जना सांसद्‌हरूले विपक्षमा मतदान गरे भने उनकै भाइले समेत सरकारबाट राजीनामा दिए।

जोनसनको संसद्‌ निलम्बन गर्ने निर्णयप्रति पनि स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका अदालतहरूमा प्रश्न उठाइएको छ। तर अभियानकर्ता जीना मिलरले लण्डनको उच्च अदालतमा दिएको कानुनी पुनरावलोकनको मागलाई अदालतले हराइदिएको छ। यद्यपि यूकेको सर्वोच्च अदालतमा सेप्टेम्बर १७ मा उक्त मुद्दाबारे सुनुवाई गर्न अनुमति दिइएको छ।

More News last news
Loading...