उत्तर कोरियाले फेरि गर्‍यो ‘छोटो दुरीका बलिस्टिक मिसाइल’ प्रक्षेपण

उत्तर कोरियाले पुन: समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ।

त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्। ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन्।

Advertisement

शनिवारको प्रक्षेपणबारे के थाहा छ?

दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्राय:द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे।

दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए। तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो।

गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुन: वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ।

किमले पत्रमा ट्रम्पलाई के लेखेका छन्?
यो प्रक्षेपण हुनुभन्दा केही समयअघि आफूलाई उत्तर कोरियाली नेताले पत्र पठाएको अमेरिकी राष्ट्रपतिले बताएका थिए। ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले भनेका थिए, “पत्र एकदमै सकारात्मक छ।”

“हामी फेरि भेट्छौँ भन्ने मलाई लाग्छ । उनले तीन पन्ना लामो एउटा सुन्दर पत्र पठाएका छन् – माथिदेखि तलसम्म साँच्चिकै एउटा सुन्दर पत्र।” अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासहरू ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएका सहमतिविरुद्ध भएको भन्दै प्याङ्याङले आक्रोश व्यक्त गरेको छ।

किन अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास?

दुई देशले गर्ने संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु हुनेछ। तर त्यसका लागि अतिसामान्य तयारी थालिएको छ।

ती अभ्यासहरू मुख्यत: कम्प्युटर सिम्युलेशनमा आधारित हुनेछन् र पहिला उत्तर कोरियाले उत्तेजनापूर्ण मान्ने गरेका अभ्यासभन्दा सामान्य हुनेछन्।मङ्गलवार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दुरीको भन्ठानिएको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

जुनमा दुई कोरियाको सीमामा अवस्थित असैनिकीकृत क्षेत्रमा ट्रम्प र किमले आकस्मिक भेट गरेपछि प्योङ्याङले पहिलो पटक जुलाई २५ मा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। तीमध्ये एउटा झन्डै ६९० किलोमिटर पर पुगेको थियो।बीबीसीको सहयोगमा

More News last news
Loading...