काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।
आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए । त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो ।सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले दोस्रो खेल मलेसियासँग जुलाई २४, तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
