अबको दुई महिनामा नेपालमा बनेको ‘पानीजहाज सञ्चालनमा आउने’

चितवनका युवाहरू मिलेर ‘रिभर क्रूजशिप’ अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन्। राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा छ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ।

उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्। “म युरोपमा भएको बेला स्वीडनबाट फिनलन्डसम्म क्रूजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो,” कँडेलले भने। त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए।

Advertisement

कठिन
नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको को उनको दाबी छ। त्यसका लागि सिङ्गापुर, मलेशिया, चीन, जर्मनी र भारतका क्रूज निर्माता कम्पनीहरूमा गएर अवलोकन गरिएको कँडेलले बताए। नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए।

पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ।

लक्ष्य
पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्‍याउने योजनाकारको अपेक्षा रहेको छ।

चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए। कँडेलले भने, “नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो।”

दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट-गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको बताइएको छ।

क्षमता
एक सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा दुईतले हुनेछ र त्यसमा दुई सय जना अट्छन्।

पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने बताइएको छ। पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ। पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ। बीबीसीको सहयोगमा

More News last news
Loading...