काठमाडौं । लगातारको वर्षापछि आएको विपत्तिलाई ध्यानमा राख्दै प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ । आज १ बजेका लागि बोलाइएको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरू बाढी र पहिरो पीडितलाई राहत र उद्धारमा जुट्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांसदहरू राहत र उद्धारका लागि जिल्ला जानुपर्ने भएकाले बैठक स्थगित भएको हो ।’ लामो समय देखि प्रतिनिधिसभाको अघिल्लो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समयसमयमा अवरूद्ध पार्दै आइरहेको थियो ।
सर्लाहीमा भएको कुमार पौडेल र सरोजनारायण सिंहका विषयमा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएपनि सत्तारूढ नेकपाले संसदीय छानबिन समिति गठन नगर्ने बताउँदै आएको छ।
स्रोतका अनुसार आज बिहानै सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी दलका सचेतकहरूसँग छलफल गर्नुभएको छ । छलफलमा सहमति हुन नसकेपछि बैठक सूचनामार्फत् स्थगित गर्नुपरेको बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
