आकाशमा उडिरहेको हवाइजहाज एक्कासी हल्लिएपछि…

क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन ‘टर्बुलेन्स’ मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्।

चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लन्छ। सो विमानमा २८४ जना सवार थिए।

Advertisement

टर्बुलेन्समा परेपछि सो विमान हवाइमा अवतरण गराइएको थियो। होनोलुलुको विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए।

सफा आकाशमा ‘टर्बुलेन्स’
विमानसेवाले जनाए अनुसार हवाइ टापुभन्दा दुई घण्टा पर पुगिसकेको सो विमानले अचानक सफा आकाशमै बेतोडको टर्बुलेन्स बेहोरेको थियो।

उसले होनोलुलुमा होटलहरूको बन्दोबस्त गरिरहेको र यात्रुहरूलाई अस्ट्रेलिया लैजान नयाँ उडानको पनि व्यवस्था गरिरहेको जनाएको छ।

“हामी टर्बुलेन्समा पर्‍यौँ। बेस्कन हल्लिएपछि हामीहरू सबै उचालियौँ र हाम्रो टाउको माथि ठोकियो…सबै चीज खस्यो,” एकजना यात्रु जेस स्मिथले स्थानीय टेलिभिजन स्टेशनलाई बताए।

“केही मानिस जसले सिटबेल्ट बाँधेका थिएनन्, उनीहरू त एक्कासी उडेको जस्तो भए र तिनको टाउको माथि ठोकिए। निकै डरलाग्दो थियो,” अर्का यात्रुले बताए।

के हो सफा आकाशमा हुने टर्बुलेन्स?
क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन। विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइन्छ। यसलाई नाङ्गो आँखा वा परम्परागत रेडारले पनि पत्ता लगाउन सकिँदैन।

विमानचालकहरूले सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको ठाउँ थाहा पाउन सक्छन्।

ब्रिस्बेनका एलेक्स मकडोनाल्डले क्यानडेली प्रसारक संस्था सीबीएस न्यूजसँग कुरा गर्दै यात्रुहरू स्तब्ध भएको बताए। “मेरो अगाडिका यात्रुहरू उछालिएर तिनको टाउको माथि ब्याग राख्ने ठाउँमा एक्कासी ठोकिएको र सिटमा खसेको मैले देखेँ,” उनले भनिन्। बीबीसीको सहयोगमा

More News last news
Loading...