कुमार पौडेलको मृत्युबारे प्रतिवेदन दिन आयोगको तीन दिने म्याद

राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको गोली प्रहारबाट मारिएका कुमार पौडेलको शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन तीन दिनभित्र बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

असार पहिलो साता नेत्रविक्रम चन्द विप्लवको दलका सर्लाही जिल्लाका नेता पौडेल भिडन्तमा मारिएको प्रहरीले बताएको थियो। प्रहरीले नियन्त्रणमा लिएर उनको हत्या गरेको भनि संसद्‍मा समेत कुरा उठेको उक्त घटनाबारे मानवअधिकार आयोगले स्थलगत अनुसन्धान गरेको छ।

Advertisement

पोष्टमोर्टम र प्रहरी प्रतिवेदन दुबै नपाएपछि अनुसन्धान टोलीले ठोस निष्कर्ष बिना नै आफ्नो प्रारम्भिक प्रतिवेदन आइतवार आयोग समक्ष बुझाएको थियो।

म्याद किन?
आयोगको सोमवार बसेको बैठकमा त्यस प्रवेदनबारे छलफल गर्‍यो र तीन दिनको म्याद दिँदै प्रहरी मुख्यालयलाई दुबै प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

आयोगका सचिव एवम् प्रवक्ता बेद भट्टराईले भने, “अनुसन्धान टोलीले प्रारम्भिक प्रतिवेदन दिएको छ। तर १८ दिन भइसक्दा पनि पोष्टमोर्टम रिपोर्ट र प्रहरी प्रतिवेदन प्राप्त नभएपछि आयोगले प्रहरी प्रधान कार्यालयलाई तीन दिन भित्र ती प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय गरेको छ।”

संसद्‍मा सत्ताधारी दल नेकपाका सहितका कैयौं सांसदले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै छानबिनको माग गरेका थिए।

प्रहरी जस्तै गृहमन्त्रीले पौडेल दोहोरो भिडन्तमा मारिएको जवाफ संसद्‍मा दिएका थिए। त्यसैले उक्त घटनाबारे आयोगको ठहरप्रति धेरैको चासो पाइन्छ। आयोगका सचिव भट्टराईका अनुसार मागिएका प्रतिवेदन पाएपछि आयोगले आफ्नो निष्कर्ष सार्वजनिक गर्नेछ।

प्रहरी के भन्छ?
संसद्‍को एउटा समितिमा पूर्व गृहमन्त्री जनार्दश शर्माले मृतक पौडेलको हात भाँच्चिएको भन्दै उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गरेक थिए।

आयोगको प्रारम्भिक प्रतिवेदनबारे पनि त्यसतर्फ सङ्केत गर्ने खालको भाषा रहेको बुझिएको छ। तर त्यो लगायतका अन्य आशङ्काबारे निचोडमा पुग्न पोष्टमोर्टम रिपोर्ट सहयोगी हुने ठानिएको छ।

पटक-पटक जिल्लाबाट माग्दा पनि पोष्टमोर्टम र प्रहरी प्रतिवेदन नपाएको आयोगको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले पोष्टमोर्टम रिपोर्ट आफूहरूलाई पनि प्राप्त नभएकाले प्रतिवेदन आयोगलाई बुझाउन नसकिएको बताए।

उनले भने, “दुबै प्रतिवेदन एकै पटक पठाउने भनेर हामीले कुरेका हौँ। पोष्टमोर्टम रिपोर्ट प्राप्त हुने वित्तिकै आयोगलाई दुबै प्रतिवेदन पठाउँछौं।”

पौडेलको शव परीक्षण गरेका जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्र मण्डलले प्रतिवेदन अझैं तयार नभएको जानकारी दिए।

अस्पतालको प्रमुखको रूपमा प्रशासनिक जिम्मेवारी पनि आफूमाथि रहेको र आर्थिक वर्षको अन्त्यमा सक्नु पर्ने थुप्रै काममा समय दिनु परेकाले प्रतिवेदन तयार गर्न ढिलो भएको उनभो भनाइ छ।

बीबीसीसँग उनले भने, “मैले असार महिना भएकाले प्रतिवेदन तयार गर्न केही ढिलो हुने कुरा आयोगको टोलीलाई त्यही बेला पनि अवगत गराएको थिएँ। अब एक-दुई दिनमै तयार गरेर पठाउँछु।”

नेत्रविक्रम चन्दको दलले पनि नियन्त्रणमा लिएर पौडेलको हत्या गरिएको दाबी गरेको छ।बीबीसीको सहयोगमा

More News last news
Loading...