सैन्य दमन हुँदै गर्दा सुडानमा विपक्षीद्वारा वार्ताको प्रस्ताव अस्वीकार

काठमाडौँ । सुडानमा विपक्षी कार्यकर्ताहरूले देशको सैन्य परिषद्ले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्।प्रदर्शनकारीहरूमाथि सैन्य परिषद्ले गरेको हिंसात्मक दमनपछि उनीहरूमाथि विश्वास गर्न नसकिने विपक्षीले बताएका हुन्।

अर्धसैनिक बलले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि हिंसात्मक आक्रमण गर्दा कम्तीमा एक सय जनाको मृत्यु भएको र राजधानी खार्तुममा नाइल नदीबाट ४० वटा शव निकालिएको दाबी विपक्षी कार्यकर्ताहरूले गरेका छन्।

Advertisement

तर सुडानको स्वास्थ्य मन्त्रालयले सय जनाको मृत्यु भएको भन्ने विवरणको खण्डन गर्दै अहिलेसम्म हताहत हुनेको सङ्ख्या ४६ मात्र भएको दाबी गरेको छ।

खार्तुमबाट प्राप्त विवरणहरूका अनुसार र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) भनिने अर्धसैनिक बल सहरका सडकमा घुमिरहेको छ र उसको निसानामा सर्वसाधारण परेका छन्।

स्थिति कस्तो छ ?
सुरक्षाकर्मीको दमनका कारण सर्वसाधारणले आफू भयभीत भएको बीबीसीलाई बताएका छन्। विपक्षीसँग निकटस्थ सुडानका चिकित्सकको एउटा समूहले फेसबुकमा ‘४० जना सहिदको शव’ नाइल नदीबाट निकालिएको जनाएको छ।

उक्त समूहका एक सदस्यले अस्पतालमा आफूहरूले ती शव देखेको र सनाखत गरेको जानकारी दिँदै मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको बीबीसीलाई बताए।

नाम उल्लेख नगरिएका एक भूतपूर्व सुरक्षा अधिकारीलाई उद्धृत गर्दै च्यानल फोरका पत्रकार युस्रा एल्बागिरले केही व्यक्तिलाई कुटेर, गोली हानेर वा धारिलो हतियारले काटेर नाइल नदीमा फालिएको बताएका छन्।

ती स्रोतले यसलाई ‘नरसंहार’ भनेका छन्।

परिस्थिति कति भयावह छ भन्ने चित्रण गर्दै खार्तुमकै एक बासिन्दाले बीबीसीसँग कुरा गर्दै मानिसहरू घरबाट निस्कँदा पनि सैनिकले पिटिहाल्छन् वा मारिहाल्छन् कि भन्ने डरमा रहेको बताएका छन्।

निर्वाचन कहिले ?
सुडानमा यतिबेला सेनाको शासन छ। सैन्य परिषद्का प्रमुख जनरल बुर्हानले मानवीय क्षतिप्रति दुस्ख व्यक्त गर्दै यो घटनाको अनुसन्धान गरिने बताएका छन्।

मङ्गलवार वार्ता स्थगित भएको घोषणा गरेका उनले भोलिपल्ट वार्ताका लागि पुनः आह्वान गरेका थिए। तर प्रदर्शनकारी र विपक्षीहरूले सो प्रस्ताव अस्वीकार गरेका छन्।बीबीसीको सहयोगमा

More News last news
Loading...