काठमाडौं । अमेरिकी सरकारले प्रवेश आज्ञा भिषामा कडाइ गरेको छ। अमेरिकाका भिसा आवेदकले अब सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने छ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो।
ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यससम्बन्धी प्रस्ताव गरेको थियो। यस्तो प्रस्तावपछि केही आलोचना समेत भएको थियो । अमेरिकाको नागरिक अधिकारबारे वकालत गर्ने अमेरिकी सिभिल लिबर्टिजले यसको प्रभावकारिता र निष्पक्षतामाथि प्रश्न उठाएको थियो। त्यसको केही समयपछि कार्यान्वयनमा ल्याइएको यो व्यवस्थाबाट झण्डै एक करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान छ।
आवेदकहरुले सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र फोन नम्बरको विवरण बुझाउनुपर्ने व्यवस्था बनाएको स्टेट विभागका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
खासगरी काम र अध्ययनका लागि अमेरिका जान चाहनेका लागि सामाजिक सञ्जाल, फोन नम्बर र इमेल ठेगानाको विवरण अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
तर, केही निश्चित कूटनीतिज्ञ र औपचारिक भिसाका आवेदकको हकमा भने यो नियम लागू हुनेछैन। उनीहरुले सामाजिक सञ्जालको विवरण पेश नगरी पनि भिसा प्राप्त गर्न सक्नेछन्। सामाजिक सञ्जाल प्रयोगबारे कसैले झूटो बोलेको भेटिएमा उसले गम्भीर आप्रवासन परिणाम भोग्ने एक अमेरिकी अधिकारीले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
