नयाँदिल्ली । भर्खरै सम्पन्न निर्वाचनमा पराजित भएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन्। गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन्।
लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाइएको थियो। बैठकको सुरुमा नै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए। तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।
सबै कार्यसमिति सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका हुन्। राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको भनेका छन्। भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ।
राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन्। कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको हो। उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो। यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ। राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेठीबाट पराजित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
