भारतीय लोकसभा चुनावः कुन दलले कति पायो ?

एजेन्सी । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ। सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुँदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ।

भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन्। भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

Advertisement

एनडीए गठबन्धनमा रहेका अन्य दलहरुमध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई/दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन्।

त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्। विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ। अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ।

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ। यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन्।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस -एम (केसी-एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन्।

More News last news
Loading...