काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताएकी छन्।
गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ-आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आहृवान पनि गरेकी छन्।
विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने उनको भनाइ छ। बुद्धका उपदेशले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सदभाव कायम गर्ने उनको विश्वास छ।
राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा हामी सबैमा एकापसमा सहिष्णुता, सदभाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।
गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा उनले शुभकामना समेत दिएकी छन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन्। बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
