श्रीलङ्का । श्रीलङ्कामा मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी भयो। स्थानीय समयानुसार मङ्गलवार राति ९:०० बजेदेखि सात घण्टाका लागि कर्फ्यू लगाइएको थियो।
धेरै ठाउँमा निषेधाज्ञा हटाइएको भए पनि पश्चिमोत्तर प्रान्तमा भने अर्को सूचना प्रकाशित नभएसम्म कर्फ्यू कायम राखिएको छ।हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो। प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो।
मङ्गलवार विभिन्न सहरमा दङ्गा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको तथा हावामा गोली हानेको थियो। इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले गिर्जाघर तथा होटलहरूमा आत्मघाती आक्रमण गरेर २५० जनाभन्दा बढीलाई मारिदिएपछि श्रीलङ्कामा साम्प्रदायिक तनाव चुलिएको छ।
टेलिभिजनमा प्रसारित सम्बोधनमा प्रहरी प्रमुख चन्दन विक्रमरत्नले दङ्गा गर्न खोज्नेविरुद्ध “अधिकतम बल” प्रयोग गरिने चेतावनी दिएका छन्। अहिलेको अस्थिरताले गत महिना भएको उक्त घटनाको अनुसन्धानलाई प्रभाव पारेको भन्दै प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सबैलाई शान्त रहन आग्रह गरेका छन्।
इस्टरमा भएको घटनापछि सम्भावित प्रत्याक्रमण हुन नदिन सुरक्षाकर्मीहरू सफल भएको सरकारी पक्षको दाबी छ।
कहाँ के भयो?
हिंसाका क्रममा पश्चिमोत्तर नगर किनियामास्थित एउटा मस्जिदका झ्याल तथा ढोकामा तोडफोड भएको थियो। आक्रमणकारीहरूले मस्जिदमा भएका इस्लामिक धर्मग्रन्थ कुरानका पुस्तकहरू फालिदिएका थिए।
समाचारसंस्था रोएटर्सका अनुसार सेनाले नजिकै रहेको एउटा पोखरीमा हतियार रहेको आशङ्कामा खोजी गरेपछि एउटा समूहले मस्जिदमा पनि खोजी गर्न माग राख्दै अरूलाई उत्तेजित पारेका थिए।
इसाईहरूको बाहुल्य रहेको चिल नगरमा फेसबुकमा विवाद सुरु भएपछि र मस्जिद तथा मुस्लिम समुदायका मानिसले सञ्चालन गरेका पसलहरूलाई तारो बनाइएको प्रहरीले जनाएको छ।
हिंसा फैलाउनेगरी फेसबुकमा विवादास्पद कुरा लेख्ने एक मुस्लिम व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पुट्टलम जिल्लामा एउटा भिडले आक्रमण गरी धारिलो हतियार प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ।
सामाजिक सञ्जालमा फेरि बन्द
सरकारी अधिकारीहरूले हिंसा नियन्त्रण गर्न उद्देश्यले फेसबुक र ह्वाट्सएपजस्ता सामाजिक सञ्जाललाई बन्द गराएका छन्।ट्विटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री विक्रमसिङ्घले मिथ्या सूचनाबाट उत्तेजित नहुन तथा शान्त रहन सर्वसाधारणलाई आह्वान गरेका छन्। बीबीसीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
