काठमाडौं । रौतहटमा रक्सीको नसामा लठ्ठीएका भारतीय सुरक्षाकर्मीले नेपाली प्रहरीमाथि कुटपिट गरेका छन्।
गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेका हुन्। कुटपिटको आरोपमा प्रहरीले ३ जना भारतीय सुरक्षाकर्मीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए।
होटलमा मदिरा खाएर होहल्ला गरेका उनीहरुले होटलमा तोडफोड र कामदारलाई कुटपीट गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो। तर उनीहरुले प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने भाग्न सफल भएका छन्।
विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेकाले उनीहरु नेपाल प्रवेश गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
