आफूमाथि यौनहिंसा गर्ने प्रधानाध्यापकविरुद्ध उजुरी दिएपछि किशोरीको विद्यालयमै जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै उनले आफ्ना प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

यौन उत्पीडनविरुद्ध आवाज उठाउने उनको साहस, यसबारे जानकारी दिएको पाँचदिनभित्रै हत्या गरिएको र त्यसबीचमा जे जति घटना भए त्यसले निकै चर्चा बटुलेको छ ।

Advertisement

१९ वर्षे नुसरत फेनीमा बस्थिन् । फेनी दक्षिणी ढाकाबाट १६० किलोमिटर टाढा छ । उनी मद्रासा वा इस्लामिक स्कूलमा पढिरहेकी थिइन् । मार्च २७ मा उनले आफूलाई स्कूलका प्रधानाध्यापकले अफिसमा बोलाएर अनैतिक तरिकाले पटकपटक छोएको जानकारी दिइन् । आफूमाथि थप हिंसा हुनुअघि त्यहाँबाट भागेको उनले बताइन् ।

बंगलादेशका थुप्रै किशोरी तथा महिलाले आफूमाथि भएको यौनहिंसालाई समाजको डरले गोप्य नै राख्छन् । नुसरत यसकारण भिन्न भइन् किनभने उनले यसविरुद्ध आवाज मात्र उठाइनन्, घटना भएकै दिन आफ्नो परिवारसँग पुलिस स्टेशनमा गएर यसबारे जानकारी दिइन्।

एक स्थानीय पुलिस स्टेशनमा उनले आफ्नो बयान दर्ता गरिन्। उनलाई आफूमाथि के भएको थियो भनेर बताउनका लागि सुनिश्चित वातावरण प्रदान गर्नुपर्ने साटो एक पुलिस अधिकारीले बयान दिइरहेका बेला उनको भिडियो खिचे।

उक्त भिडियोमा नुसरत निकै आत्तिएकी थिइन् र बारम्बार आफ्नो अनुहार हातले लुकाउन खोजिरहेको देख्न सकिन्छ। उनले बयान दिइरहँदा पुलिसले ‘खासै ठूलो केही होइन’ भनिरहेको सुन्न सकिन्छ। पुलिसले उनलाई अनुहारबाट हात हटाउन बारम्बार भनिरहेको पनि सुन्न सकिन्छ। उक्त भिडियो स्थानीय मिडियामा पछि सार्वजनिक भयो।

नुसरत जाहा रफी सानो गाउँस्थित रुढिवादी परिवारमा हुर्किएकी थिइन् । उनी धार्मिक स्कूल गइन् । उनीजस्ती किशोरीले यौनहिंसा बारे जानकारी दिनु भनेको विभिन्न नतिजाको भागीदार हुनु हो । पीडितले समाजबाट विभिन्न लाञ्छना सहनु पर्छ, अनलाइनमार्फत् र मानिसबाटै थप हिंसा व्यवहोर्नुपर्छ र कुनै अवस्थामा सांघातिक हमलासमेत । नुसरतको भाग्यको खेल, उनले यो सब भोगिन् ।

मार्च २७ तारिखमा उनी पुलिस स्टेशनमा गएपछि प्रधानाध्यापकलाई पक्राउ गरियो । त्यसपछि नुसरतका लागि समस्या सुल्झनुको साटो थप बढ्यो । प्रधानाध्यापकको रिहाईका लागि मानिसहरु सडकमा जम्मा भए । विद्यालयका दुई छात्र र केही राजनीतिज्ञको अगुवाइमा विरोध कार्यक्रम गरियो । मानिसहरुले नुसरतमाथि विभिन्न आरोप लगाउन थाले । त्यसपछि परिवार उनको सुरक्षाका लागि चिन्तित हुन थाल्यो ।

यस्तो समस्याका बीच अप्रिल ६ तारिखमा, यौनहिंसा भएको ११ दिनपछि नुसरत अन्तिम परीक्षाका लागि स्कूल गइन् ।

‘मैले मेरी बहिनीलाई स्कूलभित्र लैजान विद्यालय परिसरभित्र प्रवेश गर्न चाहेँ तर मलाई त्यही रोकियो,’ नुसरतका दाइ, मोहम्मद हसन नोमनले भने ।

‘यदि मलाई नरोकिएको भए, मेरी बहिनीमाथि जे भयो, त्यो कदापी हुने थिएन,’ उनले भने ।

नुसरतले दिएको बयान अनुसार उनका साथीले एकजना साथी कुटिएको भन्दै उनलाई विद्यालयको छतमा लगिन् । जब नुसरत छतमा पुगिन् तब बुर्का लगाएका चार–पाँचजनाले उनलाई घेरेर प्रधानाध्यापकविरुद्धको आरोप फिर्ता लिन दबाब दिए । जब उनले अस्विकार गरिन्, तब उनीहरुले उनलाई आगो लगाए ।

यो घटनाबारे अनुसन्धान गरिरहेका बनाज कुमार मजुम्दरले हत्याराले यसलाई आत्महत्या देखाउन खोजेको बताए । उनीहरुको योजना विफल भयो जब नुसरतलाई उद्धार गरियो । मृत्युअघि उनले यसबारे बयान दिएकी छिन् ।

‘हत्यारामध्येका एकले उनको टाउको हातले समातेर निहुराइदिएका थिए जसका कारण उनको टाउको जलेको थिएन,’ मजुम्दरले बीबीसीलाई भने ।

तर जब नुसरतलाई स्थानीय अस्पताल पुर्याइयो तब उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको पाइयो । त्यहाँ उपचार सम्भव नभएकाले उनलाई ढाका मेडिकल कलेज हस्पिटल पुर्याइयो ।

एम्बुलेन्सभित्रै, आफू नबाँच्ने जस्तो लागेपछि, उनले आफ्नो दाइको मोबाइलमा बयान रेकर्ड गरिन् ।

‘मलाई शिक्षकले छोए । उनको यो अपराधविरुद्ध म अन्तिम साससम्म लडिरहनेछु,’ उनले यस्तो भनेको सुन्न सकिन्छ ।

आफूमाथि हमला गर्ने केही विद्यार्थीबारे पनि उनले जानकारी दिएकी छिन् ।

नुसरतको स्वास्थ्यबारे बंगलादेशी मिडियाले निकै चासो दिए । अप्रिल १० मा उनको मृत्यु भयो । फेनीमा आयोजित उनको अन्तिम संस्कारमा हज्जारौंको उपस्थिती रह्यो ।

पुलिसले अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ, तीमध्ये सातजना उनको हत्यामा संलग्न छन् । पक्राउ परेकामध्ये दुईजना ती छात्र हुन् जसले प्रधानाध्यापकको रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रधानाध्यापक जेलभित्र छन् । नुसरतले बयान दिइरहेको भिडियो खिच्ने पुलिसलाई अर्को विभागमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री शिख हसिनाले ढाका गएर नुसरतको परिवारलाई भेटेकी छिन् । उनले हत्यामा संलग्न प्रत्येकलाई कानूनको दायरामा ल्याउने बचन दिइन् । उनले भनिन्, ‘कसैलाई पनि छोडिनेछैन,’ उनले भनिन् । रातोपाटीबाट साभार

More News last news
Loading...