यूरोपेली नक्कली राहदानी लिएर नेपाल आउछन् इरानी नागरिकहरू

युरोपेली मुलुक स्लोभिनियाको राहदानी बोकेका एक दम्पती झन्डै दुई महिनाअघि टर्कीको इस्तानबुलबाट आएको एउटा विमानबाट काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए।

उनीहरूका साथमा १४ र चार वर्षका छोराहरू पनि थिए। चारै जनासँग युरोपेली राहदानी भएकाले विमानस्थलस्थित नेपाली अध्यागमन कर्मचारीहरूले ‘आगमन’को छाप लगाइदिए।

Advertisement

उनीहरू सबैले नेपालमा पर्यटकको हैसियत पाए। केही दिनपछि उनीहरू स्लोभिनिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबई उडे।दुबई उड्नुअघि विमानस्थलस्थित अध्यागमन कर्मचारीहरूले उनीहरूको राहदानीमा ‘प्रस्थान’को छाप लगाइदिए।

अनुमति
नेपाली विमानस्थलमा स्लोभिनियाको नागरिकका हैसियतमा आगमन र प्रस्थानको अनुमति पाएका ती चारै जनाले दुबईबाट भने युरोप जाने अनुमति पाएनन्।

दुबईस्थित अध्यागमन कर्मचारीहरूले उनीहरूलाई नेपालतर्फ फर्काइदिए। उनीहरूले बोकेको स्लोभिनियाको राहदानी नक्कली भएको पत्ता लागेको थियो।

नेपाली अध्यागमन कर्मचारीहरूले भने दुबईबाट उनीहरूलाई नेपाल फर्काइएपछि मात्र त्यसको मेसो पाए। त्यसपछि बल्ल उनीहरू स्लोभिनियाका नभई इरानका नागरिक भएको खुल्यो।

पक्राउ र स्वदेश फिर्ता
नाबालक सन्तानसहित नक्कली कागजपत्रका आधारमा नेपालको बाटो प्रयोग गरेर युरोप जान खोज्ने ती दम्पती इरानी नागरिक भएको पत्ता लागेपछि अध्यागमन विभागले पक्राउ गर्‍यो। र, उनीहरूलाई आफ्नै देश इरान फर्काइदियो।

ती दम्पती मात्र होइनन्, नेपाल आएर यहाँबाट युरोप जानका लागि मध्यपूर्व वा भारतलाई ‘ट्रान्जिट’ बनाएका अरू इरानी नागरिकहरूलाई केही समययता लगातार नेपाल फर्काइन थालेको नेपालस्थित अध्यागमन अधिकारीहरू बताउँछन्।

गत वर्षको साउनदेखि गत चैतभित्र मात्र २१ जना इरानीहरूलाई नेपाल फर्काइएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ। त्यसरी फर्काइएकाहरू सबैले नेपालमा आउँदा र नेपालबाट जाँदा युरोपेली राहदानी प्रयोग गरेको पाइएको छ। तर ‘ट्रान्जिट’मा पुगेपछि कडाइ हुँदा भने उनीहरूले आफूहरूसँग भएको इरानी राहदानी देखाउने गरेको पाइएको अधिकारीहरू बताउँछन्।

कडाइ
अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी भन्छन्, “नेपाल आउँदा युरोपेली मुलुकको नक्कली राहदानी प्रयोग गर्ने र त्यसैका आधारमा युरोपतर्फ जान खोज्ने प्रवृत्ति केही इरानीहरूमा देखिएको छ।”

उनले त्यसलाई नियन्त्रण गर्न विभागले इरानी नागरिकलाई दिइने गरेको ‘अन अराइभल’ भिसामा कडाइ गर्न लागिएको जानकारी दिए। “हामीले त्यसका लागि गृह मन्त्रालयलाई लेखेर पठाइसकेका छौँ,” उनले भने, “मन्त्रालयले मन्त्रिपरिषद्‍मा सिफारिस गरेपछि निर्णय हुनेछ।”

More News last news
Loading...