जाजरकोट । जाजरकोटमा आज (मंगलबार) जीप दुघर्टना हुँदा एक जना बालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जीप सडकबाट करिब ५० मिटर तल खसेको छ।
दुघर्टनामा परी पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ का लक्ष्मी नेपालीका ४ वर्षीय छोरा विवेक नेपालीको घटनास्थलमै मृत्यु भएको हो। मृतक बालककी आमा लक्ष्मी नेपाली घाइते भएकी छिन्।
जाजरकोट डोल्पा सडकको नलगाड रग्दादेखि दल्लीतर्फ आउँदै गरेको ग १ ज ५८१२ नम्बरको जीप नलगाडको वडा नम्बर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने ठाँउमा दुघर्टना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नलगाड-९ निवासी चालक राजेन्द्र विक र नलगाड-१० का तेजबहादुर विक गम्भीर घाइते छन्। नलगाड-११ दुर्गेस बानियाँ , उनकी श्रीमती खिमा बानियाँ र नलगाड १ का भरत परियार दुघर्टनामा घाइते भएका छन्।
घाईते दुर्गेसको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट रेफर गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
