काठमाडौ । प्रदेश नम्बर २ मा एसईई परीक्षालाई गम्भिर लापरवाही गरिएको छ । लगातार एक पछि अर्को विषयको प्रश्नपत्र एक दिन पहिले नै सार्वजनिक हुनुले लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको देखिएको छ।
यो घटना प्रदेश नम्बर २ मा भएको भए पनि देश भरि परीक्षा दिइरहेका सबै विद्यार्थीलाई असर परेको छ। यो बिचमा आज आकस्मिक बैठक बोलाएर शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जाँचबुझ गर्न भन्नु भएको छ।
उहाँले परीक्षा अगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुःखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरताका साथ हेरेको बताउँनुभयो।
शिक्षा मन्त्रालयमा आज साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनु भएको छ।
श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको पनि मन्त्री पोखरेलले बताउनुभयो । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि जानकारी दिनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
