काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ। सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
‘केपी प्रचण्डको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको छ। यता हाम्रो पार्टीले राष्ट्रघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरुलाई जनताको माग र चाहना बमोजिम जनकारबाही गर्दै जाँदा आम जनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र संकटलवाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ’ विप्लवको विज्ञप्तिमा भनिएको छ।
प्रतिबन्धको विरोधकाबीच पनि आफ्ना नेता कार्यकर्तामाथि धरपकड तीब्र पारेको भन्दै हेमन्त प्रकाश ओलीसहितका पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको दवाव दिन चैत १६ गतेको लागि नेपाल बन्दको आह्वान समेत गरिएको विप्लवको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा ओली नेतृत्वको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको दाबी गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
