काठमाडौँ । बचना ए हसीनों, लो मैं आ गया, सुनसरीको इटहरी उपमहानगरपालिका का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको जी टिभीको सङ्गीत रियालिटी शो सारेगमप लिल च्याम्प्सको आइतवारको प्रसारणमा गीत गाउँदा त्यहाँको माहोल एकाएक तात्न पुग्यो।
भारतीय गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक उनको गीत सुनेर निकै हौसिएका थिए।
निर्णायकहरूको ठूलो समूह ग्रान्ड ज्युरीले प्रितमलाई शतप्रतिशत अङ्क दियो। त्यसको अघिल्लो दिन शनिवार सिन्धुपाल्चोक स्थायी घर भइ हाल भक्तपुरको नयाँ ठिमीमा बसोबास गर्ने अर्का प्रतियोगी १२ वर्षीय आयुष केसीले कुछ ना कहो‘ बोलको गीत गाए।
निर्णायक शानले आयुषको प्रस्तुतिको खुलेर प्रशंसा गरे। जी टिभीको बच्चाहरूको सङ्गीत प्रतिभा प्रस्तुत गरिने रियालिटी सो सारेगमप लिल च्याम्प्सको २०१९ को संस्करणमा दुईजना नेपाली बालक प्रितम आचार्य र आयुष केसी प्रतिस्पर्धामा छन्।
उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिसन, मेगा अडिसन हुँदै अहिले उत्कृष्ट १६ मा पुगेका छन्।
नेपाली गायक-गायिका के भन्छन् ?
प्रितम र आयुषका लागि अबको प्रतिस्पर्धा त्यति सहज नहुने नेपाली गायक-गायिका बताउँछन्।
नेपालकै एउटा सङ्गीतकै रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका र अहिले प्रितम र आयुषको प्रस्तुतिलाई नजिकबाट हेरिरहेका गायक प्रमोद खरेल अबका दिनमा उनीहरूले अझै मेहनत गर्नुपर्ने बताउँछन्।
उनले भने, अब सबै उत्कृष्ट रहेकाले प्रस्तुतिमा सानो त्रुटिले पनि उनीहरू प्रतियोगिताबाट बाहिरिन सक्छन्। त्यसैले दह्रो मेहनत गर्नुपर्छ।
गायिका आस्था राउतले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सक्दो प्रयास गर्न सुझाव दिएकी छिन्। गीतको शब्दमा डुबेर गाउन उनले सल्लाह दिइन्।
निकै ठूलो प्रतिस्पर्धामा डुबेर गाउन सकेनन् भाइहरूले भने गाह्रो हुन्छ अबको प्रतिस्पर्धा।
आमाबुवाका नजरमा छोराहरू
प्रितमकी आमा राधिकाले आफ्नो छोराको प्रस्तुतिले आफूलाई खुशी तुल्याएको बताइन्।
बाबुले राम्रो गरिरहेको छ। एउटा प्रस्तुति बाहेक सबै प्रस्तुतिमा शत प्रतिशत अङ्क ल्याइरहेको छ। हामी खुशी छौँ।
आयुषका बुबा रामकृष्णले आफ्नो छोराले राम्रो प्रस्तुतिका लागि सक्दो प्रयास गरिरहेको बताए। छोराले सुरूदेखि नै राम्रो गर्ने प्रयास गरिरहेको छ। अहिले ऊ नेपालकै छोरा भएको छ।
प्रितम र आयुष साथी हुन्। उनीहरू करिब तीन वर्षअघि नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलका प्रतियोगी थिए।
त्यसबेला आयुष पहिलो र प्रितम दोस्रो भएका थिए। हाल जी टिभीको सारेगमप लिल च्याम्प्स रियालिटी शोका यी दुई प्रतियोगी बालकमा अस्वाभाविक प्रतिभा भएको परिवारका सदस्यले बताएका छन्।
आयुषका बुबा रामकृष्णले भने, आयुषको साथी नै सङ्गीत हो। गीत नसुन्नु भन्यो भने रुन्थ्यो। प्रितमकी आमा राधिकाका अनुसार अहिले उनका छोराले सङ्गीत सिक्ने र प्रस्तुति दिने राम्रो स्थान पाएका छन्।
उसकै कारण अहिले हामीले गर्व गर्ने अवस्था आएको छ, राधिकाले भनिन्, उसको अस्वाभाविक प्रतिभा देखाउने अवसर भएको छ।
कडा प्रतिस्पर्धा
गत फेब्रुअरी ९ बाट शुरू भएको उक्त रियालिटी शोका उत्कृष्ट १६ प्रतियोगीबीचको प्रतिस्पर्धा झन् कडा हुने ठानिएको छ।
पाँच वर्षदेखि १४ वर्षसम्मका बालबालिकाबीच प्रतिस्पर्धा गराइने उक्त प्रतियोगिताको अबको बाटो त्यति सहज नभएको आयुष र प्रितमलाई राम्ररी थाहा भएको उनीहरूका अभिभावकले बताएका छन्। बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
