काठमाडौं । पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तीन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।
बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भुमीमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीले उक्त रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल मार्फत लाई हस्तान्तरण गरेका हुन् ।
सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरेको बताएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद दिए ।
हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका मेयर, पौदी सेभ सोसाइटीका केन्द्रिय पदाधिकारी र विभिन्न पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो । यस भन्दा पहिले यस संस्थाले तिल बहादुर जिसीलाई पनि आर्थिक सहयोग गरेको थियो ।
पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भुमीमा काम गरिरहेका र स्वदेश मै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिव र असक्त नेपालीलाई आफ्नो कमाईबाट केही रकम सहयोग गर्दै आएका छन् । बाबुले आत्महत्या र आमाले पनि छाडेर गए पछि बालबालिकाहरु विचल्लीमा परेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
