रामशरण थापा
काठमाडौँ । तारकेश्वरमा आधारभूत तह (कक्षा–८, नगरस्तरीय) को अन्तिम नतिजा सार्वजनिक भएको छ।
तारकेश्वर नगरपालिका नगर शिक्षा शाखाले आज एक औपचारिक कार्यक्रमका बीच सो नतिजा सार्वजनिक गरेको हो।
तारकेश्वर–६ स्थित रहेको रिभर साईट रिसोर्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकको प्रमुख प्रशासकीय अधिकृत एवं परीक्षा सञ्चालन समितिका अध्यक्ष जानूका सुवेदी वाग्ले, नगर शिक्षा अधिकारी बाबुराम काराखेती, नगर शिक्षा शाखाका अधिकृत पदम बहादुर खत्री, श्रोत व्यक्ति रामेश्वर पौडेल, विभिन्न सामूदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको उपस्थितीमा सो नतिजा सार्वजनिक गरिएको हो।

तारकेश्वर नगरपालिका अन्र्तगत रहेका ५८ वटा संस्थागत विद्यालयहरु मध्येबाट ४५ वटा र २२ वटा सामूदायिक विद्यालयहरु मध्येबाट १५ वटा गरि जम्मा ६० वटा विद्यालयहरुको कुल एक हजार ६ सय ६८ जना विद्यार्थीहरु सहभागी रहेको उक्त परीक्षाको परिक्षाफल सार्वजनिक भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले जि.पि.एस. १.६ ल्याउने विद्यार्थीहरुलाई मात्र कक्षा ९ मा भर्ना गरिने जानकारी दिए।
यसै गरि श्रोत व्यक्ति रामेश्वर पौडेलले परीक्षा सुरु देखि नै सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुको सल्लाह र सुझावलाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गरिएको र परीक्षा पुस्तिका परीक्षणमा पनि पुराना कमजोरीहरुलाई अध्ययन गरि सच्याईएको बताए।

यसै गरि तारकेश्वर तारकेश्वर नगरपालिकको प्रमुख प्रशासकीय अधिकृत एवं परीक्षा सञ्चालन समितिका अध्यक्ष जानूका सुवेदी वाग्लेले परीक्षा पारदर्शी र मर्यादित तवरले सञ्चालन हुनुका साथै परीक्षाफल पनि पारदर्शी रुपमा सार्वजनिक भएकोमा सम्पूर्णलाई धन्यवाद दिईन।
उनले थप्दै भनिन, ‘आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पेशागत मर्यादालाई ध्यान दिन आवश्यक रहेको छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
