काठमाडौँ । पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै गएका छन्। अवस्था दर्दनाक हुदै गइरहेको छ। आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन्।
शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत बालिका बलात्कार गरी हत्या गरेका घटना बाहिर आएका छन् ।
बढेको बढ्यै
पछिल्लो चार महिनामा देश ७८ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । ६ बालिकाको त बलात्कारपछि हत्या नै गरिएको छ।
प्रत्येक महिना बलात्कारको घटना सार्वजनिक हुने क्रम बढिरहेका छन् । सबैभन्दा धेरै ३१ जना बालिका फागुनमा यौनहिंसाको शिकार भएका छन् । मंसिरमा १०, पुसमा १४ र माघमा २३ जना बालिका बलात्कार र यौनहिंसाको शिकार भएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो अवधिमा ४ जना बालकसमेत बालयौन दुर्व्यवहारमा परेका छन् । ७४ जना बालिका बलात्कारबाट पीडित भएका छन् । जसमध्ये ६ जना (८प्रतिशत) को सामुहिक बलात्कार भएको छ ।
आफन्त नै दुस्मन
एक बालिका ३ जना म्यादी प्रहरीबाट समेत बलात्कृत भएकी छन् । सबैभन्दा बढी चिनजानका व्यक्ति तथा आफन्तबाट नै बालिका बलाकृत भएकी छन् ।
४१ प्रतिशत अर्थात ३० जना बालिका बलात्कार चिनजान तथा आफन्तबाट नै भएका छन् । त्यसैगरी छिमेकीबाट २७ प्रतिशत (२० जना), आफ्नै बुबा तथा हाडनाताबाट १५ प्रतिशत (११ जना), फेसबुक तथा सामाजिक सञ्जाल मार्फत भएको चिनजानबाट ९ प्रतिशत (७ जना), शिक्षकबाट ४ प्रतिशत (३ जना) र म्यादी प्रहरी र सेनाबाट ४ प्रतिशत (३ जना) बालिका बलात्कार भएका छन् ।
बलात्कारमा संलग्न अभियुक्तमध्ये १७ प्रतिशत (१६ जना) बालकहरु नै भएको देखिन्छ भने बाँकी ८३ प्रतिशत (७६ जना) वयस्कबाट बालबालिका पीडित भएका छन् । ६ जना बालिकाको बलात्कार पछि हत्या गरिएकोमा २ जना बालिकाको हत्यामा भने २ जना बालकहरु नै संलग्न भएको पाइएको छ ।
बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा १० वर्ष वा सोभन्दा मुनीका ३१ प्रतिशत (२३ जना), ११ देखि १५ वर्षका ६२ प्रतिशत (४६ जना) र १६ देखि १८ वर्षका ७ प्रतिशत (५ जना) बालिका रहेका छन् ।
सबैभन्दा सानी सप्तरीकी २ वर्षको बालिका पनि बलात्कृत भएकी छन् । सबैभन्दा धेरै १४ वर्ष उमेरका बालिकाहरु बलात्कारको शिकार भएका छन् ।
बालक पनि जोगिएनन्
बालयौन दुर्व्यवहारमा परेका बालकहरुमध्ये काठमाडौंस्थित एक होटलमा लामो समयदेखि ३ जना सडक बालकलाई खाना र पैसाको प्रलोभन दिएर ६३ वर्षे जर्मन नागरिकबाट यौन दुराचारमा भएको खुलेको छ।
त्यसैगरी अर्का एकजना बालक महोत्तरीमा गाउँकै युवाबाट पीडित हुँदै आएको खुलेको छ। गाउँलेको मिलेमतोमा घटना ढाकछोप गर्न खोजिएपछि प्रहरीको सक्रियतामा दोषीलाई कानुनी दायरामा ल्याइएको बाल कल्याण समितिले जनाएको छ।
आर्थिक वर्ष २०७४/०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा ४५ जना बालबालिका यौन दुर्व्यवहारबाट पीडित भएका थिए। बालबालिकाविरुद्ध हुने गरेको घटनाको संख्या बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ।
(अन्नपूर्ण पोस्ट दैनिक)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
