विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालमा देब्रे तिघ्राको हड्डीको शल्यक्रिया (अप्रेसन) गरिएकी बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
आफन्तले बुझ्न नमानेपछि शव अस्पतालमै छ। गत फागुन १९ गते हड्डीको शल्यक्रिया गरिएकी सिरहाको लाहान नगरपालिका १९ की २६ वर्षीया रन्जिता शाहको मङ्गलवार मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको छ।
उनको उपचारका क्रममा बिहान ११:५० बजे मृत्यु भएको थियो। धनुषाको मिथिला नगरपालिका-३ ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा गत फागुन १८ गते भएको दुर्घटनामा उनको तिघ्राको हड्डी भाँचिएको थियो।
पूर्वतर्फ आउँदै गरेको साह चढेको स १ च १२१७ नम्बरको कार र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी ७४ यु १९६६ नम्बरको कार एकआपसमा जुध्दा घटना भएको थियो।
एउटाको नाममा अर्कैबाट अप्रशेन
त्यसलगत्तै उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। चिकित्सकले हड्डी भाँचिएका कारण शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको भाइ ललितकुमार साहले बताए। उनले अस्पतालका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा नवीनकुमार कर्णको नाममा अर्कै चिकित्सकले शल्यक्रिया गरेपछि दिदीको ज्यान गएको बताए।
रञ्जीताको हड्डीको शल्यक्रिया डा शिलानन्द श्रीवास्तवले गरेका थिए। कर्ण त्यति बेला बिदामा थिए। ‘नवीनकुमार कर्णले शल्यक्रिया गर्ने भनेर हामीलाई जानकारी गराइयो,’ ललितले भने, ‘पछि शल्यक्रिया अर्कै चिकित्सकले गरेको पाइयो।’
चिकित्सकको नाम ढाँटेर शल्यक्रिया गर्नु नै अस्पतालको पहिलो लापरबाही भएको उनको भनाइ छ। ‘डा कर्णले शल्यक्रिया गर्ने भनेर अस्पतालले हामीलाई सहमति पत्रमा हस्ताक्षर गरायो’, उनले भने, ‘तर अर्कै चिकित्सकले लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरेको थाहा भयो।’
दुवै मिर्गौला फेल
रन्जीताका पति वीरेन्द्र साह लहानमा हेल्थ असिस्टेन छन्। वीरेन्द्रले पनि चिकित्सकको लापरबाहीले पत्नी गुमाउनु परेको गुनासो गरे।
‘शल्यक्रिया गर्नु अघि उनी हाँस्ने र बोल्ने गरिरहेकी थिइन्। तीन वर्षको छोरालाई दूध पनि खुवाइन्,’ पति वीरेन्द्रले भने, ‘शल्यक्रिया गरिएको चार घण्टापछि बेहोस भइन्। हामीलाई त्यतिबेलै लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरिएको आशङ्का भने लागेको थियो।’
शल्यक्रियामा हेलचेक्राइँ गरेका कारण त्यसको भोलिपल्ट दुवै मिर्गौलाले काम गर्न छाडेको जानकारी उनले दिए। ‘मिर्गौलाले काम गर्न छाड्दा पनि चिकित्सकले बिरामीको अवस्था राम्रो छ भनेर हामीलाई भनिरहेका थिए’, उनले भने, ‘तर हामीलाई भने मनमा चिसो पसिसकेको थियो।’
मिर्गौलाले काम गर्न छाडेको भन्दै रन्जितालाई भेन्टिलेटरमा राखेर उपचार गर्न थालेपछि आफन्त कसैलाई भेट्न नदिएको र एक्कासि बिरामीको मृत्यु भयो भन्ने जानकारी मात्रै दिएको वीरेन्द्रले बताए।
(अन्नपूर्ण पोस्ट दैनिक)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
