रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले पत्रकार रवि लामिछानेको पक्षमा भईरहेको प्रदर्शनप्रति आपत्ति जनाएको छ । नेकपा चितवनले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणबारे अनुसन्धानलाई नै वाधा पु-याउने गरि प्रदर्शन भएको भन्दै विरोध जनाएको हो ।

नेकपा चितवन जिल्ला समितिले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको लागि हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले निरुपण गर्न दिइनु पर्ने माग गरेको छ । नेकपाले अनुसन्धानप्रति आंशका लागेमा वा न्यायालयको निर्णयउपर चित्त नबुझेमा पुनरावेदन गर्न संविधानमा व्यवस्थासमेत रहेको बताएको छ ।

Advertisement

नेकपा चितवन जिल्ला समितिले सामान्य परिस्थितिलाई असामान्य बनाउने गरि भईरहेको हुलहुज्जत र लगाइएको नारा परिवर्तन विरोधी भएको भन्दै विरोध जनाएको छ । नेकपाले रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा गणतन्त्रकै विरुद्ध नारा लगाइएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’

नेकपाले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुने पार्टी सदस्य, शुभेच्छुकलाई निर्देशन दिएको छ ।

यस्तो छ नेकपा चितवन जिल्ला समितिले सार्वजनिक गरेको विज्ञप्ती

 

More News last news
Loading...