काठमाडौँ । नयाँ बसपार्क क्षेत्रमा पाँच वर्षदेखि महिला हक अधिकारको क्षेत्रमा काम गर्दै आएको ‘महिला उपकार समाज सुधार मञ्च’को पाँचौँ साधारणसभा सम्पन्न भएको छ। मञ्चले आइतबार मित्रनगरको होटल रोयल काठमाडौँको प्राङ्गणमा तीजको विशेष अवसर पारेर आफ्नो पाँचौ साधारणसभा गरेको हो।

कार्यक्रमकी प्रमूख अतिथि तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथि समाजमा हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्ने बताएकी छन्। उनले बसपार्क क्षेत्रमा महिला तथा बालबालिकामाथि हिंसा बढी हुने भएकाले यसलाई रोक्नका लागि सबै लाग्नुपर्ने बताईन्।

“मुलुकको ७७ वटै जिल्लाका नागरिक जमघट हुने क्षेत्र बसपार्क हो, यस क्षेत्रमा विभिन्न बहानामा महिला तथा बालबालिकामाथि हिंसा भइरहेको छ, यसलाई रोक्न महिला नै जागरुक हुनुपर्छ”, मन्त्री थापाले भनिन्।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन महानगरपालिका लागिपरेको बताए। उनले महिलाको क्षमता विकास र उनीहरुको समस्या समाधानका लागि वडामा आएर छलफल र सल्लाह गर्न सबैलाई आग्रह गरे।

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नागरिकको सोचाइमा परिवर्तन नभएसम्म महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न नसकिने बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सबैले सकारात्मक सोच राखे मात्र बसपार्क क्षेत्रभित्र हुने विकृति–विसङ्गतिको अन्त्य हुने बताए।

यस्तै जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, काठमाडौँ होटेल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बू, नेपाल होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईं लगायतले बसपार्कभित्र देखिएका विकृति अन्त्य गर्न व्यवसायी नै लाग्नुपर्नेमा जोड दिए।

विसं २०७२ भदौ २७ गते स्थापना भएको मञ्चले बसपार्कभित्रका विकृति अन्त्य गर्नाका साथै महिला हकहितका लागि काम गर्दै आएको अध्यक्ष तथा कार्यक्रमकी सभापति लक्ष्मी भण्डारी ओलीले जानकारी दिईन्। कार्यक्रम मञ्चकी सचिव चन्द्रा बरालले सञ्चालन गरेकी थिईन्।

मन्त्री थापाको सम्बोधन (भिडियो)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
