काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ८ का वडा सचिव ओमप्रकाश पौडेलको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
गत आईतबार राती अकस्मात छातीमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएका पौडेलको आज अन्तिम बिदाई गरिएको हो । पारिवारिक स्रोतका अनुसार सामाखुशीको ग्रिन सिटी हस्पिटल पुर्याउँदा बित्तिकै डाक्टरहरुले हर्ट अट्याकका कारण निधन भएको पुष्टि गरेका थिए ।
उनको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापा, ने.का. केन्द्रिय सदस्य प्रदिप पौडेल, कामपा उपमेयर हरिप्रभा खड्गी र संविधान सभा सदस्य रामचन्द्र पोखरेल, प्रदेश सभा सदस्य नरोत्तम वैद्य, बिभिन्न वडाका वडा अध्यक्ष र पदाधिकारीहरु लगायतका सयौं नेता, आफन्तजन तथा कर्मचारी सहकर्मीहरु आर्यघाटमा पुगेका थिए ।
श्रद्धाञ्जलीमा सहभागीहरुले पौडेलको अत्यन्तै मिलनसार, सबैसँग घुलमिल हुन सक्ने बानीबाट सबैजना प्रभावित हुने गरेको भन्दै स्मरण समेत गरे । यसअघि पौडेलको शवलाई वडा नं ८ को वडा कार्यालय जयवागेश्वरीमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
२०२६ साल वैशाख २७ गते तनहुँ जिल्लामा जन्मेका पौडेलकी श्रीमती (हरिमाया पौडेल), एक छोरा (अशोक पौडेल) र एक छोरी (प्रकृति पौडेल) रहेका छन् । अष्टेलियामा रहेका स्वर्गीय पौडेलका एकमात्र छोरा स्वदेश आईपुग्न ढिला भएकाले आज अन्तिम संस्कार सम्पन्न गरिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
