काठमाडौँ । लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन्।
सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन्।
विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ। ढलको निकास नगरी सडक उच्च बनाइदिँदा कोशी अञ्चल अस्पतालभित्र पानी पसेको हो। अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन्।
अस्पतालको मुख्य प्रदेशद्वारादेखि नै शुरू भएको डुबान मर्मतसम्भार शाखा र इलेक्ट्रिक कन्ट्रोल प्यानलमा पनि पानी चुहेर पस्दा कर्मचारी असुरक्षित अवस्थामा काम गर्न बाध्य छन्।
अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ। ढलको निकास छैन भने सडकको पानीसमेत अस्पतालमा छिर्दा अस्पतालभित्र पानी जमेको हो। विराटनगरमा विगत तीन दिनदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन निरन्तर वर्षाको सम्भावना छ। यस सम्भावनाले विराटनगरवासीलाई थप त्रस्त बनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
