काठमाडौँ । प्रायः सोमबार र बिहिबार बस्दै आएको मन्त्रिपरिषद्को बैठक सोमबार बसेपछि मङ्गलबारका लागि पनि डाकिएको छ। २४ असारको विहान सात बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेकफाष्टसहितको बैठक बोलाएका छन्।
आर्थिक वर्षको अन्ततिर बस्न लागेको बैठकले के महत्वपूर्ण निर्णय लेला भन्ने चासो छ। स्रोतका अनुसार केही मन्त्रीहरुका लागि यो बैठक नै यो मन्त्रिपरिषद्मा अन्तिम सहभागिता हुनसक्छ। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मन्त्रीहरुको हेरफेर र कार्यविभाजनको दबाब परेपछि निर्णय लिएका थिएनन्। आर्थिक वर्षको अन्तमा यस्तो निर्णय लिंदा गलत सन्देश जाने भन्दै ओलीले पर्खिएका थिए।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केही मन्त्रीहरुको हेरफेरमा चासो देखाइरहेका थिए। आफ्नै पहलमा नियुक्ति पाएका केही मन्त्रीहरुप्रति प्रचण्ड असन्तुष्ट छन्। केही मन्त्रीहरु विवादमा पनि परेका छन्। कार्यसम्पादनमा कमजोर भए नभएको मूल्यांकन समेत गरिएबाट मन्त्रीहरुको पद धरापमा परिसकेको थियो।
मन्त्रीमण्डलमा हेरफेरको सम्भावनाबारे सूचना पाएपछि मन्त्रीहरु पछिल्लो हप्ता निकै कडा रुपमा प्रस्तुत भए। केहीले संसदीय समितिमा आक्रोश पोखे। केहीले सचिवहरुले गुमराहमा राखेको समेत भने। कर्मचारीतन्त्रप्रति धेरै मन्त्रीहरु असन्तुष्ट रहेको बुझिएको छ। उनीहरुले आफूहरुलाई साथ दिनेभन्दा अलमलाउने गरेको गुनासो पोख्ने गरेका छन्।
मन्त्रीहरुको गुनासाका कारण केही सचिवहरुका सरुवा पनि भयो। यता, प्रधानमन्त्री ओली पनि कर्मचारीतन्त्रको व्यवहारप्रति सन्तुष्ट छैनन्। उनले कर्मचारीतन्त्रमा केही परिवर्तनको तयारी गर्दै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
