८० वर्षीय तुईन चालक ‘चेपाङ बा’ लाई ‘जिग्री’ र ‘पाँडे’द्वारा नयाँ घर हस्तान्तरण

काठमाडौँ । चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङको नयाँ घर हस्तान्तरण गरेका छन्। धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा विगत २० वर्ष देखि उनले तुईन तान्दै आइरहेका थिए ।

आइतबार एक कार्यक्रमका बीच हास्यकलाकार जिग्री पाँडे सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितीमा धादिङ रोराङ गाउपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो।

Advertisement

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो । आज भन्दा ६ महिना अघि उनले तुईन चलाउने बाजेको फिल्मीकुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए।

चर्चित हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो।

अबदेखि त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए। तपाईले घर र आफूलाई सधै सफा सुग्गर राख्नुहोला । छिमेकी दाजुभाईले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला।’ यता जिग्रीले एउटा पून्यको काममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताए।

शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो। उनले सञ्चारकर्मी श्यामहरिलाई आगामि दिनमा पत्रकारितासँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिन आग्रह गरे।

उता शुक्रबहादुरले काठमाडौं देखि कलाकार आएर घर हस्तान्तरण गरिदिदा मनमा निकै खुसी लागेको बताए । उनले भने, ‘घर थिएन, जग्गा थिएन। अब त जग्गा पनि पाए, घर पनि पाए। म तुईन तान्दिन ।’ हाल उनीसँग एक छोरा बस्छन्। शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए।

घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए।

More News last news
Loading...