काठमाडौँ उपत्यकासहित देशभर किन यति गर्मी ?

विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्।

कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाडौँमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्। जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाडौँ उपत्यकामा तापक्रम उस्तैउस्तै देखिएको छ।

Advertisement

उपत्यकावासीका भनाइमा काठमाडौँमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस हुने गरेको छ। विभागका अनुसार शनिवार काठाण्डूको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतवार दिउँसो ३२ डिग्री सेल्सियसकै हाराहारी तापक्रम पुगेको छ।

शनिवार विराटनगरको तापक्रम ३४.५ डिग्री सेल्सियस थियो। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठले भनिन्, यसपटक गर्मी बढेको अनुभव गर्नुमा जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो।

हामीले काठमाडौँ उपत्यकामा साच्चै हरेक वर्ष तापक्रम बढ्दै गएको हो वा मानिसहरूलाई त्यस्तो अनुभूति मात्र भएको हो ? भनी मौसम विज्ञ श्रेष्ठलाई सोधेका थियौँ।

काठमाडौँको तापक्रम र मौसमका बारेमा श्रेष्ठको भनाइ उनकै शब्दमाः
सामान्यरूपमा विगत ४० वर्षको विवरण हेर्दा काठमाडौँमा र पहाडी क्षेत्रमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको देखिन्छ।

सन् १९७१ देखि २०१४ सम्मको तुलना गर्दा यी क्षेत्रमा हरेक वर्ष ०.४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेको देखिन्छ।तर गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ प्राकृतिक रूपमा तापक्रम वृद्धि भएको भन्दा पनि अन्य कारण छन्। त्यसको एउटा कारण भनेको काठमाडौँ उपत्यकामा बढ्दो शहरीकरण नै हो।

यस क्षेत्रमा न हरियाली छ, न त भेन्टिलेसन राखेर हावा वारपार हुने गरि घर बनाइन्छ। यसले गर्दा यो क्षेत्रमा आद्रता बढिरहेको छ। जसका कारण मानिसहरूले एकदमै गर्मी र अफ्ट्यारो अनुभव गर्ने गरेका छन्।

जलवायु परिवर्तनको अनुकूलन सम्बन्धी एउटा अध्ययन गर्दा हामीले काठमाडौँ मात्र होइन अन्य पहाडी क्षेत्रमा पनि तराईको तुलनामा तापक्रम अझ धेरै बढेको पाएका छौँ।

हरेक वर्ष यस्तो अवस्था देखिनुको कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै हो।पहाडमा नै किन बढी असर देखियो भन्नेमा एउटै कुरालाई मात्र कारणका रूपमा हेरेर हुँदैन। तर चिसो क्षेत्रमा तापक्रम एकदमै संवेदनशील हुने भएकाले तापक्रम छिटो बढेको हुनसक्छ।बीबीसीको सहयोगमा

More News last news
Loading...