विप्लव समूहद्वारा सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास, गृहमा आकस्मिक बैठक 

गस्तीमा सेनाको हेलिकप्टर पठाउने तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यकर्ताले छापामार शैलीमा सोलुखुम्बुको एउटा प्रहरी चौकी आक्रमण प्रयास गरेको छ ।

आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको बताइएको छ । महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास भएपछि प्रहरीलाई सुरक्षित स्थान सारिएको जनाईएको छ ।

Advertisement

यसैबीच,  ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ। प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन्। बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन् ।

सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली छेस्का पुगिसकेको छ।  प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको प्रहरी चौकी खाली गराइसकिएको छ। त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ। प्रहरीले नेपाली सेनासँग हेलिकप्टर मागेको छ।

सोलुखुम्बुमा हवाई गस्तीका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो। उक्त हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक स्रोतले जनायो।

More News last news
Loading...