काठमाडौं । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ। विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्य्विधि लागू गरेको हो।
कार्य्विधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद गरेको छ।
त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन्। ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए। अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन् ।
‘राजमार्ग (सडक)मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्य्विधि’ चैतदेखि कार्यान्वयनमा आएको हो। जसमा राजमार्गलाई सुरक्षित बनाउनेदेखि दुर्घटनापछि शीघ्र रूपमा उद्धार गर्ने उद्देश्य राखिएको छ। बन्द–हडताल तथा प्राकृतिक विपत्का कारण सडक बन्द भए पनि तत्काल सबै निकायसँग समन्वय गरी खुलाइने कार्य्विधिमा जिम्मेवारी तोकिएको छ। कार्य्विधि कार्यान्वयनका लागि सबै निकायमा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
