काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गरिमा घटाउने, अमर्यादित र गैर संसदीय भाषा बोलेकोप्रति आपत्ती जनाएको छ ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक बिज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । बिज्ञप्तिमा भनिएको छ,‘सरकारको बार्षिक नीति तथा कार्यक्रममाथी छलफल पश्चात प्रतिनिधिसभाका माननीय सदस्यहरुले सम्माननीय प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभा वैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैर संसदीय भाषा बोलेकोप्रति नेपाली काँग्रेस संसदीय दल गम्भीर आपत्ती प्रकट गर्दछ ।’
यसैगरी प्रतिपक्षी काँग्रेसले सभामुखले पनि संसदलाई गरिमामय ढंगले संसद सञ्चालन गर्न नसकेको आरोप लगाएको छ । सभामुखले गरिमामय ढंगले संसद सञ्चालन गर्नुपर्नेमा नगरेको भन्दै गैर संसदीय एवं संसदको गरिमा घट्ने खालका अमर्यादित शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको र संसदको गरिमाको रक्षाका लागि सभामुखले निर्णायक भूमिका निर्वाह नगरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशिघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्नका लागि समेत काँग्रेसले सरकार र संसद समक्ष माग गरेको छ ।
सांसदहरुले राखेको प्रश्नको जवाफ दिन रोस्ट्रम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’ भनेका थिए । त्यसपछि संसदमा हंगामा भएको थियो ।
बिज्ञप्ति :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
