राप्रपा (संयुक्त) को बैधानिकतामा प्रश्न, राणा र लोहनी अन्यौलमा

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा कागजात अपुग भएपछि राप्रपा (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको राजनीति संकटमा परेको छ ।

गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बनेको थियो । राप्रपा (प्रजातान्त्रिक) को अध्यक्ष राणा र एकीकृत राप्रपा राष्ट्रवादीको अध्यक्ष लोहनी थिए । एकता भएपनि पार्टीले औपचारिकता नपाउँदा पार्टीका नेता नै अब के गर्ने भन्नेमा अन्यौलमा छन् । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा पनि हलो चिन्ह नै प्रयोग छ ।

Advertisement

पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ । राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आयोगमा दिएको डकुमेन्ट सबै पूरा भएको बताउनुभयो । ‘२÷४ दिनमै दर्ता होला, हामीले बुझाएका छौं, बाँकी के छ के छैन भनेर हेर्ने काम आयोगको हो’ लोहनीले भन्नुभयो ।

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको ऐनको दफा १० मा दलहरु एकीकरण हुन वा गाभिन सक्ने व्यवस्था छ । यो दफाको उपदफा (१) मा भनिएको छ ‘ दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन् ।’ दफा ४ मा दल दर्ता हुनुपर्ने व्यवस्था छ ।

यसै दफामा थपिएको छ ‘ उपदफा १ बमोजिम एकीकरण हुन वा गाभिन सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र उपदफा १ बमोजिमको सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्नेछ ।’ तर यसलाई पार्टीले मानेको छैन ।

पार्टी दर्ता गर्ने जिम्मेवारी पाएका कार्य सम्पादन समितिका अर्का सदस्य बाबुराम बस्नेतले अहिलेसम्म आयोगले कुनैपनि ‘डकुमेन्ट’ नपुगेको नभनेको बताउनुभयो । पार्टीले फरकफरक समयमा प्रकाशित गरेको विज्ञप्तिमा कहिले दुवै पार्टीको अस्तित्व रहेको र नरहेको भनिएकाले के हो भन्ने ‘कम्फ्युज’ छ । फागुन २८ गते प्रकाशित पार्टीको अर्को विज्ञप्तिमा भने दुवै पार्टीका सबै सञ्रचना यथावत रहेको भनी लेखिएको छ । त्यसअघि निकालेको विज्ञप्तिमा नरहेको भनिएको थियो ।

२०७४ भदौ ८ गते राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय समितिको बैठकले ६९ जनाको केन्द्रीय समिति रहेको देखाएको छ । लोहनी अध्यक्ष रहेको पार्टीमा १ सय १ जनाको केन्द्रीय समिति छ भनिएपनि त्यो संख्या १ सय ५० भन्दा बढी भएको स्रोतको भनाई छ ।
लोहनीको पार्टी छोडेर राणाकामा गएका ३१ जनाको नाम आफ्नो पार्टीमा नरहेको भन्दै लोहनीको पार्टीले निर्वाचन आयोगमा २०७४ पौष १४ गते पत्र पठाएको थियो । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विष्णुप्रसाद भट्टराइले राणा, लोहनी र अरु पार्टी छोडेर गएको हुनाले अरु २ वटा पार्टीको अस्तित्व कायमै रहेको बताउनुभयो ।

५ औं नम्बरमा केन्द्रीय सदस्य रहेका केशरबहादुर विष्टले पार्टीमा केहीकेही समस्या रहेको बताउनुभयो । निर्वाचन आयुक्त नरेन्द्रप्रसाद दाहालले आवश्यक प्रक्रिया नपु-याई आए दल दर्ता गर्न नसकिने बताउनुभयो । ‘जे चाहिन्छ भनेर ऐनमा व्यवस्था भएको छ, त्यो नभई दल दर्ता गर्ने कुरै आउँदैन’ दाहलले भन्नुभयो ‘नीति, नियम सबैका लागि एउटै भएकाले मापदण्ड हेरेपछि मात्र दर्ताको प्रोसेसमा जान्छ ।’

नेपाल समाचारपत्र

More News last news
Loading...