काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवम् कामना प्रकाशन प्रा. लि. का अध्यक्ष पुष्करलाल श्रेष्ठलाई दिने घोषणा गरेको छ। पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा शुक्रबार बसेको पुरस्कार छनौट समितिको बैठकले सो निर्णय गरेको हो । श्रेष्ठ नेपाल समाचारपत्रका संस्थापक एवम् प्रधान–सम्पादक हुन्।
विगत साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा अविरल क्रियाशिल श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै क्लबले यही चैत्र १७ गते २१ औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो।
वि.स. २०४२ साल मंसिर १५ गते कामना मासिक प्रकाशन गरेर श्रेष्ठले पत्रकारिताको यात्रा तय गरेका हुन्। नेपाली पत्रकारिताको व्यवसायिक जग बसाल्ने श्रेयपनि श्रेष्ठलाई नै जान्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
