जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्ष सत्यनारायण मण्डललाई दुर्व्यवहार गरेका छन्।
आइतबार धनुषा जिल्लाको सरस्वती नमुना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री साहले केन्द्राध्यक्ष मण्डलसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकहरूलाई तथानाम हप्काएका थिए।
केन्द्राध्यक्ष मण्डलले भने, ‘मलाई तथानाम गाली गरे, तपाईको जागिर खाइदिन्छु भन्दै उनले भने, तपाईलाई हटाइदिन्छु। बेबकुफ भनेर हप्काए।’ मण्डलले मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले र किन केन्द्राध्यक्ष बनाएको भनेर हप्काउदै गालीगलौज गरेको आरोप लगाए।
त्यस्तै विद्यालयका शिक्षक बेचन रामले मलाई हिन्दी भाषामा गाली गलौज गर्दै तिमीहरुमा संस्कार नै नभएको भन्दै परिचयपत्रमा फोटो किन नटाँसेको भनेर तथानाम गालीगलौज गरेको बताए। मन्त्री साहको भनाई उद्धृत गर्दै उनले भने, ‘तुम्मे संस्कार नही हैं । फोटो क्यूं नै रखा।’ शिक्षक रामले आफूलाई चमार र दलित भनेर मन्त्रीले गाली गर्दै अपमानित गरेको दाबी गरे।
आक्रोशित केन्द्राध्यक्ष मण्डलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मन्त्रीको दुव्र्यवहार सहेर भएपनि परीक्षा सञ्चालन गरे। परीक्षा केन्द्रमा ४ जनाको परिचयपत्रमा फोटो थिएन। फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
