१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपीडीसी) लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ।

Advertisement

सो कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

उक्त बैठकले लगानी बोर्ड कार्यालयले आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने ६३ वटा परियोजनाको सूची स्वीकृत गरेको जनाएको छ। ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो। उहाँले उक्त सम्मेलनलाई अर्थपूर्ण बनाइ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिनुभयो।

More News last news
Loading...