जापान जाने नेपाली कामदारको लागि यस्तो छ स्वास्थ्य परिक्षणको मापदण्ड

टोकियो । नेपाल सहित ९ देशबाट नयाँ भिषा प्रक्रिया अनुसार जापान आउने कामदारले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने भएको छ ।

जापानको न्याय मन्त्रालयले आगामी अप्रिल महिनाबाट नयाँ भिषा प्रणाली अनुसार ल्याउन लागेको कामदारको लागि स्वास्थ्य परिक्षण अनिवार्य गर्ने भएको हो ।

Advertisement

मन्त्रालयका अनुसार जापान आउनको लागि आवश्यक कागजातसँगै आवेदन दिंदा आवेदकले अनिवार्य रुपमा आफ्नो स्वास्थ्य परिक्षणको निरोगी भएको सर्टि्फिकेट समेत बुझाउनुपर्नेछ ।

यस्तो स्वास्थ्य परिक्षण आधिकारीक स्वास्थ्य संस्था र चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने बताईएको छ । त्यस्तो स्वास्थ्य परिक्षणको प्रमाणपत्रले निज व्यक्ति काम गर्नको लागि सक्षम रहेको खुलाउनुपर्नेछ अर्थात् निरोगी भएको प्रमाणित हुनुपर्नेछ ।
न्याय मन्त्रालयका अधिकारीहरुका अनुसार आवेदकहरुले ब्लड प्रेसर चेक, क्षयरोगको परिक्षण सहित अन्य स्वास्थ्य परिक्षण अनिवार्य गराएको हुनुपर्नेछ ।

त्यसअघि त्यस्तो स्वास्थ्य परिक्षणको लागि नेपाल सहित ९ वटै देशमा स्वास्थ्य परिक्षण गर्ने आधिकारीक स्वास्थ्य केन्द्र तोक्ने विषयमा सवन्धित देशका अधिकारीहरुसँग छलफल भईरहेको बताईएको छ ।

यसको लागि स्वास्थ्य परिक्षणको नमुना फाराम ढाँचा मन्त्रालयको वेवसाईटमा राखिने भएको छ । मेडिकल सर्टि्फिकेटको नमुना समेत जापानी, अँग्रेजी, भियतनामी सहित ११ भाषामा हुने भएको छ।

कामदार ल्याउने ९ देशमध्ये नेपाल पनि रहेकाले त्यसमा नेपाली भाषा समेत समेटिने ठानिएको छ। त्यसरी बुझाईएको निरोगी भएको प्रमाणपत्रलाई आगामी महिनाबाट सञ्चालनमा ल्याउन लागिएको जापानको न्याय मन्त्रालय अन्र्तगतको विभागले हेर्ने भएको छ।

यसअघि प्रशिक्षार्थी सहित अन्य कामदारको भिषामा जापान आएका केही बिदेशीहरुमा क्षयरोग लगायत जापानमा बिरलै भेटिने रोगको संक्रमण पाईएपछि त्यसलाई रोक्न जापान सरकारले यस्तो कदम चाल्नलागेको ठानिएको छ।

बढ्दो श्रमशक्ति अभावलाई पुर्ती गर्न जापानले आगामी महिनाबाट ५ बर्षको अवधिमा प्रशिक्षार्थी कामदारको रुपमा ३ लाख ४५ हजार बढी कामदार ल्याउँदैछ । ५ बर्षे भिषा अवधिमा यसरी आउने बिदेशी कामदार निरोगी रहुन् भन्ने उदेश्य सहित जापान प्रवेश अघिनै उनिहरुको स्वास्थ्य ठिक भएको निश्चिन्तता जापानले खोजेको छ।

More News last news
Loading...