काठमाडौं । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल हराएको छ । सेनाले अहिले अंगरक्षक अर्जुन घिमिरेको साथमा रहेको पेस्तोलको खोजीमा लागेको छ। अहिलेसम्म पेस्तोल नभेटिँदा सेनालाई तनाव भएको छ।
मृतक सबैको अन्त्येष्टि भइसकेको छ । सेनालाई घटना लगत्तै पेस्तोलको याद आएतापनि फेला परेको छैन । सैनिक जवानहरु मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको साथमा भएको पेस्तोलको खोजीमा छन्।
हेलिकोप्टरमा केही कागजपत्र पनि भएको बताइएको छ, जुन बाहिर उछिट्टिएको र पूर्णरुपमा नजलेको हुन सक्ने भन्दै सेनाले खोजिरहेको स्रोतको भनाइ छ।
सैनिक उद्धार टोलीका एक अधिकारीका अनुसार अहिले बाक्लो हिमपात भएका कारण पेस्तोलको खोजी सफल भएको छैन । ती अधिकारीहरुका अनुसार दुर्घटनास्थल वरपर यो वर्ष सिजनकै सबैभन्दा बढी हिमपात भएको हो । यही कारणले पेस्तोल फेला पर्न नसकेको सेनाको अनुमान छ।
जिल्लाको फुङलिङबाट करिब डेढ घन्टा गाडीको यात्राबाट काफ्ले पार्टी भन्ने ठाउँसम्म पुगिन्छ । त्यहाँबाट करिब साढे ३ घन्टा हिँडेपछि दुर्घटनास्थलमा पुगिने उद्धारकर्ताहरुले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
