काठमाडौ । तेश्रो पटक हृदयाघात भएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस वीरविक्रम शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई लिन बहिनी प्रेरणा राज्यलक्ष्मी सिंहलगायत आफन्तहरु अस्पताल पुगेका थिए ।
गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् ।
‘अहिलेसम्मको रिपोर्ट हेर्दा उनी मेडिकल्ली फिट भएकै कारण डिस्चार्ज गरिएको हो । अब उनले नियमित औषधी सेवन गर्नुका साथै जीवनशैलीमा उल्लेख्य सुधार गर्न जरुरी छ’ अस्पताल स्रोतले भन्यो ।
खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधी सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाई छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
