काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक स्थल मंगलबार बिहान हात हालाहालको स्थिती सिर्जना भएको छ ।
जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै हात हालाहालको अवस्था सिर्जना भएको हो । जिल्ला सभापतिहरुले राखेको अडान विपरीत सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमै उक्लिएर होहल्ला गर्न थालेका थिए ।
जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि सभापति देउवाले बैठक स्थगित गर्नु परेको थियो । बैठक स्थगित भएपछि मञ्चमा माइक लिएर नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले बोल्न सुरु गरेपछि सह–महामन्त्री डा. प्रकाशशरण महतले माइक खोसेका थिए । माइक खोसाखोसपछि त्यहाँ हात हालाहालको अवस्था सिर्जना भएको हो ।
यसैबीच, कांग्रेस शीर्ष नेताहरु पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफल गरिरहेका छन् । विधानमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन् । दिउँसो २ बजे पुनः महासमिति बैठक सुरु हुने गरी तत्कालका लागि त्यस विधानमा सहमति जुटाउन नेताहरु छलफलमा जुटेको वुझिएको छ ।
विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा कांग्रेस शीर्ष नेतृत्वबीच विवाद छ । जसका कारण महासमिति वैठक लम्बिने निश्चित छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
