निर्मला हत्या प्रकरणबारे प्रहरी महानिरीक्षकले दिए यस्तो जवाफ !

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए । महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।”

Advertisement

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो । महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताए । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशङ्का देखिएको उल्लेख गरे ।

उनले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए । समितिका सदस्यले मुलुकका शान्ति सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमा मात्र नभई समग्र सुरक्षा र सुशासनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।

समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो भनी प्रश्न गरेका थिए । समितिका सदस्य सरिता प्रसाईंले प्रश्न गर्दै भने, “जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ ?” सांसद विमला राई पौडेलले साँचो अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्र्नेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गरे ।

समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशङ्का देखिएको जिकिर गरे । उनले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाए । समितिका सदस्य दीनानाथ शर्माले बालक अपरण, बालिका बलात्कार र हत्याका घटना वृद्धि हुनुले आफूहरुलाई चिन्तित तुल्याएको जनाउँदै यस्ता घटना हुनुको प्रमुख कारण पहिचान गरेर समाधान गर्नु सबैको चासो र दायित्वकोे विषय भएको बताए ।

प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए । समितिका सभापति तारादेवी भट्टले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिएकी छन ।

More News last news
Loading...